
रुकुम पश्चिम ३०, चैत ।
रुकुम पश्चिमको त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनालले आर्थिक अनियमितताको आरोप झुठो रहेको बताउनुभएको छ । विद्यालयको आर्थिक उपसमितिले सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजु देखाइएको अनियमितताको विवरण झुठो रहेको बताउनुभएको हो ।
बिहीवार जिल्ला स्थित पत्रकार सङ्ग भेटघाट गर्दै आफूलाई लगाइएको सबै आरोपको उहाँले खण्डन गर्नुभएको छ । आर्थिक प्रतिवेदन नै आन्तरिक लेखापरीक्षणको ढाँचामा नभएकाले सो आरोपको कुनै अर्थ नरहने प्रअ खनालको भनाइ छ । बेरुजु भनिएको ५५ लाख ७३ हजार रकम समेत सरासर झुठो रहेको बताइएको छ ।
त्यस्तै प्रतिवेदनमा विद्यालयको आम्दानी भनिएको ८९ लाख ४८ हजार रकमको विवरण पनि त्रुटिपूर्ण रहेको प्रअ खनालले बताउनुभएको छ । उहाँका अनुसार वास्तविक आम्दानी ८१ लाख १४ हजार रकम रहेको छ । जसअन्तर्गत ६२ लाख रकम उठेको र १८ लाख रकम उठाउन बाकी रहेको छ ।
प्रअ खनालले आफ्नो र लेखापालको व्यक्तिगत चरित्र हत्या समेत गरिएकाले खेद व्यक्त गर्दै कानुनी प्रक्रियामा जाने बताउनुभएको छ । त्यस्तै नयाँ प्रअ नियुक्तिका लागि गैरकानुनी र गैरसंबैधानिक तरिकाले विव्यस वैठक बसी आफुलाई प्रअ बाट हटाइएको विषय पनि न्याय र कानुन संगत नभएको उहाँको भनाइ छ ।
यहाँको त्रिभुवन माध्यमिक विद्यालयको आर्थिक अनियमितताको विषय पेचिलो बन्दै गएपछि आर्थिक सुधार समिति निर्माण गरिएको थियो । सो समितिले फागुन १२ गते पेश गरेको प्रतिवेदन चैत १४ गते विव्यस बैठकमा छलफलका रुपमा राखिएको हो ।
