रुकुम पश्चिम २०, फागुन ।
रुकुम पश्चिममा संचालित औद्योगिक प्रदर्शनी प्रतियोगिता सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा औद्योगिक प्रदर्शनी प्रतियाेगिता सम्पन्न भएको हो ।
जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायहरूलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले मुसिकोट नगरपालिका १ खलङ्गाको बराहटाकुरामा संचालित रुकुम पश्चिम महोत्सवमा ऊक्त प्रदर्शनी प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा जिल्लाभरका ११ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीमा राखेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा मुसीकोट नगरपालिका– १ सल्लेमा अल्लोबाट कपडा उत्पादन गर्दै आउनु भएका त्रिवेणी अल्लो कपडा उद्योगका ठानबहादुर बुढाथोकी प्रथम हुनुभएको छ । त्यस्तै त्रिवेणी गाउँपालिका -२ मा रहेको मंगल मादल उद्योगका संचालक मंगल बादी दोस्रो हुनुभएको छ । मुसीकोट नगरपालिका -५ मा रहेको खड्का मुढा उद्योगका संचालक विरबहादुर खड्का तेस्रो हुनुभएको छ ।
विजेताले क्रमश ३० हजार २० हजार र १० हजार पुरस्कार पाउनुभएको छ ।