रुकुम पश्चिम २५, माघ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते हुने मौराखारा गुरिल्ला म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । आज गाउँपालिकाको कार्यालय सिम्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले गुरिल्ला म्याराथनको तयारी अन्तिम चरणमा पुगेका जानकारी दिनुभएको हो ।
गाउँपालिकाले सशस्त्र जनयुद्धको बेला तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन सञ्चालन गदै आएको छ । सानीभेरी गाउँपालिकाको प्रशासनिक केन्द्र सिम्ली देखि तत्कालिन माओवादीले सेना उत्पादन गरेको मौराखारा सम्मको बाटोमा गाउँपालिकाले हरेक बर्ष जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।
गत वर्ष कोभिड -१९ को कारण म्याराथन सञ्चालन हुन नसकेको र यसपटकको गुरिल्ला म्याराथन पाँचौ संस्करण भएको बताईएको छ । सानीभेरी गाउँपालिकाको आयोजना र राष्ट्रिय खेलकुद परिषद नेपालको सहयोग र युवा खेलकुद बिकास समिति सानीभेरी गाउँपालिकाको व्यवस्थापनमा यो संस्करणको गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन हुन लागेको युवा खेलकुद विकास समिति सानीभेरी गाउँपालिकाका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयो ।
४६ किलोमिटर दुरी रहेको पुरुष म्याराथनमा प्रथम हुनेले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ४५ हजार र चौथो हुनेले १५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको दशौं स्थान सम्म हासिल गर्ने प्रतियोगिले जनही ३ हजार पुरस्कार पाउने गाउँपालिकाको भनाई छ ।
त्यस्तै ३४ किलोमिटर दुरीमा संचालन हुने महिला गुरिल्ला म्याराथनको प्रथम हुनेले ६० हजार, दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १० हजार र दशौं स्थान सम्मकालाई जनही ३ हजार दिइने छ ।
यसपटकको म्याराथनको अवसरमा राष्ट्रिय कलाकार टिका पुन लगायतका कलाकारहरुको पनि उपस्थिति हुने गाउँपालिकाले जनाएको छ ।