
रुकुम पश्चिम १८, कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउपालिकामा नमूना मतदान सम्पन्न गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रदान गर्न जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले मुसिकोट नगरपालिकाको त्रिभुवन जनता मावि खंलगा र त्रिवेणी गाउपालिकाको त्रिवेणी मावि सिम्रुतुमा नमूना मतदान कार्यक्रम सम्पन्न गरेको हो ।
मुसिकोटमा सम्पन्न नमूना मतदानमा जम्मा ७३ मत खसेको जिल्ला निर्वाचन अधिकृत कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार खसेको जम्मा मत मध्ये प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ५७ मत सदर र १६ मत बदर भएका छन भने समानुपातिकमा ६१ मत सदर र १२ मत बदर भएका छन ।
त्यसैगरी प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ ६५ मत सदर र ८ मत बदर भएका छन भने समानुपातिकतर्फ ६२ मत सदर र ११ मत बदर भएको जिल्ला निवार्चन अधिकृत मल्लले जानकारी दिनुभयो ।
त्यस्तै त्रिवेणी गाउपालिकामा सम्पन्न नमुना मतदानमा जम्मा ६१ मत खसेको थियो । खसेको जम्मा मत मध्ये
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ५७ मत सदर र ४ मत बदर भएका छन भने समानुपातिकमा ५९ मत सदर र २ मत बदर भएका छन ।
त्यसैगरी प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ ५९ मत सदर र २ मत बदर भएका छन भने समानुपातिकतर्फ ५८ मत सदर र ३ मत बदर भएको बत्ताएको छ ।
नमूना मतदान कार्यक्रममा जनप्रतिनिधि, स्थानीय मतदाता कर्मचारी र शिक्षक समेतको सहभागितामा रहेको थियो । यो संगै जिल्लाका ४ स्थानिय तहमा नमुना मतदान कार्यक्रम सम्पन्न भएका छन् । भने जिल्लाको चौरजहारी र सानीभेरीमा भोली १९ गते नमुना मतदान कार्यक्रम हुन लागेको जिल्ला निर्वाचन अधिकृत मल्लले जानकारी दिनुभयो ।
